नेपाल आज कुनै एक दल, एक नेता वा एक सरकारको असफलताबाट मात्र गुज्रिरहेको छैन। यो अवस्था शासन प्रणालीभन्दा गहिरो मानसिकता र आचरणको संकट हो। राज्यको दिशा हराउनुको मूल कारण नीतिको अभाव होइन नैतिक कम्पास हराउनु हो।…
सत्ता आज सेवा होइन आत्मरक्षाको साधन बनेको छ। जसले सत्ता समात्छ उसले आफ्नो विगतका गल्तीलाई वैधता दिने अधिकारपत्र जस्तो प्रयोग गर्छ जसले सत्ता गुमाउँछ ऊ अचानक नैतिकताको ठेकेदार बन्छ। यसले देखाउँछ समस्या विचारको होइन अवसरवादी प्रवृत्तिको हो।..
राजनीतिक दलहरू विचारका आधारमा होइन लाभ हानिको समीकरणमा उभिएका छन्। आज गलत भन्ने कुरा सत्ता बाहिर हुँदा मात्रै देखिन्छ सत्ता भित्र पुगेपछि उही गलत व्यवहार व्यावहारिक राजनीति नाम दिइन्छ। यही दोहोरो मापदण्डले लोकतन्त्रलाई खोक्रो औपचारिकतामा सीमित बनाइदिएको छ।
असहमति यहाँ लोकतान्त्रिक अभ्यास होइन शत्रुता ठानिन्छ। प्रश्न गर्ने नागरिक शंकास्पद बनाइन्छ आलोचकलाई देशद्रोही जस्तो व्यवहार गरिन्छ। यसले देखाउँछ हामी लोकतन्त्रको संरचना त बनायौँ तर लोकतान्त्रिक संस्कार विकास गर्न असफल भयौँ..!
सबैभन्दा खतरनाक पक्ष भनेको लाज हराउनु हो। कानुन छन्, तर लागू गर्ने इमान छैन। पद छन् तर जिम्मेवारीबोध छैन। भाषण छन् तर आत्मसमीक्षा छैन। जब समाजले नै अनैतिकतालाई सामान्य मान्न थाल्छ, तब संकट केवल राजनीतिक हुँदैन—सांस्कृतिक र नैतिक बन्छ।
आज नागरिक चेतना पनि प्रश्नको घेरामा छ। हामी सत्यको खोजी होइन आफ्नो पक्षको रक्षा गरिरहेका छौँ। आफ्ना नेताको गल्ती ढाक्न शब्दको जाल बुन्छौँ। यसरी नागरिक स्वयं सत्ता प्रवृत्तिको सहभागी बन्दै गएका छन्।
त्यसैले डर यो होइन कि नेपाल बिग्रँदैछ डर यो हो कि नेपाल आफू बिग्रिएको स्वीकार गर्न तयार छैन। जब समाज सुधारको आवश्यकतामै असहमत हुन्छ तब परिवर्तन असम्भव बन्छ।..
देश नाराबाट होइन आचरणबाट बन्छ। लोकतन्त्र मतपेटिकामा होइन दैनिक व्यवहारमा बाँच्नुपर्छ..! अधिकारभन्दा अघि दायित्व र आलोचनाभन्दा अघि आत्मसमीक्षा आवश्यक हुन्छ..!
यो लेख कुनै दलमाथिको अभियोग होइन यो समयले देखाएको सामूहिक ऐना हो। ऐना फुटाउने कि अनुहार सुधार्ने यो निर्णय आज हामी सबैले गर्नुपर्ने छ।

Leave a Reply