दोष होइन, दृष्टिकोणको अन्धकार
मानिसले संसारलाई जस्तो छ त्यस्तै देख्दैन, उसले आफ्नो दृष्टिकोणको ऐनाबाट हेर्छ। यही कारणले गर्दा एउटै चित्र कसैलाई अद्भुत लाग्छ भने कसैलाई त्यसमा सयौं त्रुटि देखिन्छ। चित्र र चरित्र जतिसुकै निष्कलंक र उज्यालो किन नहोस्, यदि हेर्ने दृष्टि नै दोष खोज्न अभ्यस्त भइसकेको छ भने त्यो दृष्टिले कहिल्यै पूर्णता देख्न सक्दैन। उसले उज्यालोभन्दा छायाँ खोज्छ, सुन्दरभन्दा असुन्दरमा अड्किन्छ, र सत्यभन्दा आफ्नै पूर्वाग्रहलाई सत्य ठान्छ।
दृष्टिकोण केवल हेर्ने माध्यम मात्र होइन, यो सोच, अनुभव, भावना र चेतनाको मिश्रण हो। जसको मन शंका, असन्तोष र नकारात्मकताले भरिएको हुन्छ, उसले संसारलाई पनि त्यस्तै देख्छ। उसले अरूको सफलता देख्दा पनि त्यसमा कमजोरी खोज्छ, अरूको सद्गुण देख्दा पनि त्यसमा स्वार्थ देख्छ। यस्तो दृष्टिकोणले जीवनलाई सँधै अधुरो बनाउँछ, किनकि जहाँ हेरे पनि उसलाई केही न केही कमी मात्र देखिन्छ।
तर प्रश्न उठ्छ के वास्तवमै संसार यति दोषपूर्ण छ? कि हाम्रो दृष्टि नै त्यसरी तयार गरिएको छ? धेरैजसो अवस्थामा समस्या बाहिरी यथार्थमा हुँदैन, समस्या हाम्रो भित्री संरचनामा हुन्छ। हामीले भोगेका विगतका पीडा, धोका, असफलता र निराशाले हाम्रो दृष्टिलाई कठोर बनाएको हुन्छ। त्यसैले हामी स्वतः नै रक्षा गर्न खोज्छौं दोष खोजेर, दूरी बनाएर, र आलोचना गरेर।
तर यस्तो दृष्टिकोणले न त अरूलाई न्याय गर्छ, न त आफूलाई शान्ति दिन्छ। दोष खोज्ने बानीले सम्बन्धहरू बिगार्छ, विश्वासलाई कमजोर बनाउँछ र जीवनको सौन्दर्यलाई ढाकिदिन्छ। जब हामी सधैं अरूमा कमी देख्छौं, तब हामी आफूभित्रको अधुरोपन झनै गहिरो बनाइरहेका हुन्छौं। किनकि सत्य कुरा के हो भने जसले उज्यालो देख्न चाहन्छ, उसले पहिले आफ्नै आँखाको अन्धकार हटाउनुपर्छ।
सकारात्मक दृष्टिकोण भनेको अन्धो प्रशंसा होइन। यसको अर्थ दोष नदेख्ने होइन, तर दोषभन्दा अघि गुण देख्ने क्षमता हो। यो त्यस्तो चेतना हो, जसले अपूर्णताभित्र पनि सम्भावना देख्छ, कमजोरीभित्र पनि सुधारको बाटो खोज्छ। यस्तो दृष्टिकोणले मात्र मानिसलाई सन्तुलित, सहनशील र समझदार चित्रमा साना दागहरू हुनु स्वाभाविक हो, चरित्रमा केही कमजोरी हुनु मानवीय कुरा हो। तर ती दागहरूमा मात्र अड्किनु हाम्रो सीमितता हो। वास्तविक कमी चित्रमा होइन, हेर्ने दृष्टिकोणमै लुकेको हुन्छ। जब दृष्टि बदलिन्छ, संसार आफैं बदलिएको जस्तो लाग्छ।
त्यसैले, कहिलेकाहीँ अरूलाई होइन, आफ्नै दृष्टिलाई प्रश्न गरौं। सायद त्यहीँबाट उज्यालो सुरु हुन्छ्।।

Leave a Reply