चलिरहेको मृत्यु प्रश्नविहीन अस्तित्वको कथा

मानिस बाँचिरहेको छ कि छैन भन्ने प्रश्न शरीरतर्फ होइन, चेतनातर्फ सोधिनुपर्छ। सास चल्नु एउटा यान्त्रिक प्रक्रिया हो; सोच्नु भनेको अस्तित्वको स्वीकृति हो। जब मानिसले प्रश्न गर्न छाड्छ, ऊ मर्छ—तर चालु रहन्छ। यही चलिरहेकै मृत्युलाई समाजले “सामान्य” भनेर स्वीकार गरेको क्षणबाट पतन सुरु हुन्छ।

हाम्रो समयको सबैभन्दा ठूलो समस्या अन्याय होइन, अन्यायसँगको सहजीकरण हो। जब गलतलाई निरन्तर सहन्छौँ, त्यसले स्वरूप बदल्छ अपराधबाट व्यवस्था बन्छ। नेपाल आज यही बिन्दुमा उभिएको छ, जहाँ सत्ता स्वार्थको अनुशासनमा छ, मूल्यहरू भाषणमा सीमित छन्, र विवेक थाकेको छ।

मौनता यहाँ निर्दोष छैन। मौनता आफैं एउटा निर्णय हो नबोल्ने निर्णय। मानिसहरू बोल्दैनन्, किनकि बोल्नुले जोखिम माग्छ। सोच्दैनन्, किनकि सोच्नुले पीडा माग्छ। भीडमा मिसिँदा दोष हराउँछ, तर अस्तित्व पनि हराउँछ। यही भीडले समाज बनाउँछ, तर यही भीडले चेतनालाई पनि मर्छ।

सत्य कहिल्यै सजिलो हुँदैन; सजिलो कुरा प्रायः सत्य हुँदैन। समाजले सजिलोलाई रोजेपछि सत्यलाई खतरा ठान्छ। त्यसपछि प्रश्न गर्ने व्यक्ति असहज बन्छ, र असहज व्यक्ति अपराधीझैँ देखिन थाल्छ। तर इतिहास सधैं असहजहरूकै काँधमा अगाडि बढेको छ।
विद्रोह भन्ने शब्दलाई हामीले बाहिरी हिंसासँग बाँधेर बुझ्यौँ। तर साँचो विद्रोह कुनै हातमा ढुंगा उठ्नु होइन; मनभित्र अस्वीकार जन्मिनु हो। “यस्तो हुनु हुँदैन” भन्ने चेतनाले जब आकार लिन्छ, त्यही क्षण विद्रोह सुरु हुन्छ। किनकि स्वीकार नै सबैभन्दा ठूलो पराजय हो।

हामी बारम्बार सत्ता बदलिएको देख्छौँ, तर चेतना बदलिएको देख्दैनौँ। शासन फेरिन्छ, तर सोच उही रहन्छ। जब नागरिकले आफ्नो विवेक अरूलाई सुम्पिन्छ, तब स्वतन्त्रता कागजमा सीमित हुन्छ। राज्य त्यतिखेर खतरनाक हुँदैन, जब शासक बलियो हुन्छ; राज्य त्यतिखेर खतरनाक हुन्छ, जब नागरिक थाक्छ।
इतिहासले गोलीको आवाजभन्दा चुप्पीलाई धेरै गहिरो रूपमा सम्झन्छ। प्रश्न सधैं एउटै रहन्छ जब मूल्यहरू मरे, तिमी किन बाँचिरहेजस्तो मात्र भयौ?

बाँच्नु कुनै स्वाभाविक क्रिया होइन बाँच्नु चेतनाको रोजाइ हो। सोच्ने रोजाइ, प्रश्न गर्ने रोजाइ, अस्वीकार गर्ने रोजाइ। उठ्नु भनेको भीडबाट अलगिनु हो। बोल्नु भनेको एक्लोपन स्वीकार्नु हो। तर यही एक्लोपनभित्र मात्र अस्तित्वको अर्थ बाँच्छ। किनकि जहाँ विद्रोह समाप्त हुन्छ, त्यहाँ जीवन पनि केवल आदतमा सीमित रहन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *