रूपकमा लुकेको यथार्थ र पतनको विश्लेषण
✍️✍️सादगीबटुवा देशप्रेमीसोमत_भुसाल्🇳🇵🇳🇵
1.प्रस्तावना : रूपक र यथार्थको संगम
कहिलेकाहीँ कुनै कथा केवल कथा हुँदैन
त्यो राष्ट्रको मनोविज्ञान, चरित्र र रोगको निदान पनि हुन्छ।
सत्यदेवी र महादेवको कथा त्यही हो
जहाँ सत्यदेवी केवल पात्र होइन,
सत्य, नैतिकता, विवेक र मूल्यहरूको प्रतीक हुन्।
महादेव त्यो शक्ति हुन् जसले सत्ता र स्वार्थको नशामा
सत्य मरेको स्वीकार गर्न सक्दैन।
र नन्दी भृङ्गिहरू ती मानिस हुन्, जसले सत्यलाई होइन,
सत्तालाई पूज्छन्।
यो कथा केवल अध्यात्मिक रूपक होइन,
आजको नेपालको राजनीतिक, नैतिक र संस्थागत अवस्थाको सटीक ऐना हो।
2.सत्यदेवीको आत्मादाह सत्यको मृत्यु र मूल्यहरूको विघटन
सत्यदेवीको आत्मादाह एउटा शाब्दिक मृत्यु होइन,
यो समाजभित्रको सत्यको, विवेकको र उत्तरदायित्वको मृत्युसूचना हो।
आजको नेपालको राजनीति यही मृत्युसूचना बोकेर हिँडिरहेको छ।
राजनीतिक दलहरूबाट सिद्धान्त हराइसकेका छन्,
नैतिकता सत्ताको व्यापारमा बेचिएको छ,
र विवेक, जो कुनै पनि नेतृत्वको आत्मा हुनुपर्थ्यो,
त्यो पद र पैसाको लिलामीमा हराइसकेको छ।
सत्यदेवी मरेकी छिन्
तर कसैले स्वीकार गर्न सक्दैन।
किनकि सत्य मरेको मान्नु भनेको
आफू दोषी भएको स्वीकार गर्नु हो।
र हाम्रो नेतृत्त्व, हाम्रो दल र हाम्रो शासन
आफ्नो दोष स्वीकार गर्न तयार छैन।
त्यसैले उनीहरू पनि महादेवझैँ
मरेको सत्यको लास काँधमा बोकेर
सत्य ज्यूँदो छ देश अगाडि बढ्दैछभन्ने नारा लगाइरहेका छन्।
- महादेवको भ्रम सत्ता र सत्यको द्वन्द्व
महादेवलाई सत्यदेवीको मृत्यु सहनै भएन
त्यसैले उनले त्यो लास काँधमा बोके।
उनको उद्देश्य प्रेम थियो तर कर्म भ्रम भयो।
राजनीतिमा पनि ठीक यही विरोधाभास छ
नेता भन्छन् हामी देशका लागि
तर गर्छन् आफ्नो पदका लागि।
भन्छन् हामी परिवर्तनका वाहक
तर गर्छन् स्वार्थका व्यापार।
यसरी सत्यदेवीको लास बोकेर हिँड्ने महादेव
वास्तवमा नेताहरूको मानसिक प्रतिरूप हुन्
जो सत्यको लास बोकेर त्यसलाई जीवनको रूपमा प्रचार गर्छन्।
देश कुहिँदै छ, संस्था सड्दै छ, जनता थक्दै छन्
तर उनीहरू भन्छन् देश सही बाटोमा छ।
यो आत्मवञ्चनाको चरम रूप हो।
- नन्दी भृङ्गिहरू : राजनीतिक संस्कृतिको वास्तविक रोग
महादेवका वरिपरि रहेका नन्दी भृङ्गिहरू
कसैले पनि सत्यदेवी मरेकी छिन् भनेर बोल्न सकेनन्।
किनभने बोल्दा उनकै अस्तित्व समाप्त हुने थियो।
ठीक त्यस्तै आजका राजनीतिक दलका कार्यकर्ता नेता र बौद्धिकहरू
सत्तासँगै रहनको लागि मौन छन्।
सत्य बोल्ने जोखिम कोही लिँदैन।
नैतिकता भन्दा पहुँच, योग्यता भन्दा चाकडी
र जिम्मेवारी भन्दा ‘जय नेताजी’ भन्ने आवाज नै ठूलो छ।
यो मौनता केवल व्यक्तिगत कायरता होइन,
यो राजनीतिक संस्कृतिको गम्भीर रोग हो।
मौनता नै असहभागिताको नयाँ रूप हो।
यो मौनता हरेक निर्णयमा हरेक संस्थामा
हरेक संसदमा घुसिसकेको छ।
5.सत्यदेवीको लास कुहिनु राज्य संस्थाहरूको क्षय
मृत शरीर कुहिन्छ
त्यो कुनै पनि प्रणालीको प्राकृतिक प्रक्रिया हो।
तर यदि त्यो लासलाई जीवित भनेर बोकिन्छ
त्यो कुहिने मात्र होइन,
पूरै परिवेशलाई दूषित बनाउँछ।
नेपाल पनि त्यही दूषित अवस्थाबाट गुज्रिरहेको छ।
न्यायालय बाट न्याय होइन निर्देशन वितरण भइरहेको छ।
प्रशासन सेवाभन्दा सेवकको पहुँच मा चलिरहेको छ।
राजनीतिक दलहरू विचार होइन भागबण्डाका मंच बनेका छन्।
शिक्षा स्वास्थ्य अर्थतन्त्र सबैमा सिद्धान्तभन्दा सिस्टमको रजाइ हावी छ।
यो कुहावट केवल संस्थागत होइन,
नैतिक पनि हो।
राजनीतिले आफ्नै दुर्गन्धलाई सुगन्ध भनेर प्रचार गर्न थालेपछि
देशको चेतनामा कुहावट स्थायी बन्छ।
6 महादेवको झल्यास्स बोध ढिलो जागरणको त्रासदी
वर्षौंपछि महादेव एक दिन ब्युँझिन्छन्।
उनी बुझ्छन्
मैले वर्षौँदेखि मरेको सत्य बोकेर हिँडिरहेछु।
यो बोध दिव्य देखिए पनि ढिलो भयो।
ढिलो बोधले सत्य पुनर्जीवित गर्दैन
यो केवल पछुतोको भार थप्छ।
हाम्रो नेतृत्त्व पनि कहिलेकाहीँ यसरी नै बोध गर्छ जब जनताले सडक बन्द गर्छन
जब युवाहरू लाखौँको संख्यामा देश छोड्छन्
जब संस्थाहरू ढल्किन थाल्छन्
त्यो बेला मात्र भन्छन्,
हामीले गल्ती गर्यौँ।
तर त्यतिबेलासम्म देशको आत्मा कुहिसकेको हुन्छ।
ढिलो बोधले सुधार ल्याउँदैन
त्यो इतिहासको पुनरावृत्ति रोक्दैन।
- पछाडि फर्किँदा जयगानको भीड र एकान्तको सत्य
महादेवले पछाडि फर्केर हेर्छन्
हिजो जय जयकार गर्ने
महादेव महान्’ भन्ने
हामी त उहाँका निष्ठावान भक्त हौँ’ भन्ने भीड
आज हराइसकेको हुन्छ।
यसरी सत्ता पतन हुँदा
सत्यको नाङ्गोपन प्रकट हुँदा
जयगान गर्नेहरू सबै हराउँछन्।
ठीक यही नेतृत्वको अन्त्यको कथा हो
सत्ता हुँदा सबै नजिक
पतन हुँदा सबै टाढा।
यो राजनीतिक निष्ठाको वास्तविकता हो।
कसैले पनि सत्यमा होइन
सत्तामा निष्ठा राखेको समाजमा
नेताहरू अन्तत एक्लै बाँकी रहन्छन्सत्यदेवीको लाससहित
स्मृतिको बोझसहित।
- आजको नेपालको राजनीति मरेको सत्य बोक्ने राष्ट्र
यदि हामी ईमानदार भएर प्रश्न गरौँ..
के आजको राजनीति महादेवले बोकेको लासजस्तै छैन?
हाम्रो दलहरूले पनि मरेको सिद्धान्त बोकेका छैनन्?
लोकतन्त्रको नाममा अधिनायकवाद
सुधारको नाममा स्वार्थ
युवा नीति र रोजगारीको नाममा पलायन
राष्ट्रवादको नाममा नारा मात्रै।
राजनीतिले आफ्नो आत्मा हराएको छ
तर भ्रम बेच्न अझै बाँकी छ।
देशको नेतृत्व सत्ताको अभिनयमा मस्त छ
तर जनता थकिसकेका छन्।
हिजो जसरी महादेवको काँधमा कुहिएको लास थियो
आज त्यही लास नेपालका प्रणालीमा छ।
फरक केवल नामको छ
त्यहाँ लासको नाम ‘विकास योजना गठबन्धन स्थायित्व वा जनमत राखिएको छ।
9 निष्कर्ष सत्यदेवीको पुनर्जन्म र नयाँ राजनीतिक चेतना
महादेवले पछुतो त गरे,
तर त्यस पछुतोले सत्यदेवीलाई पुनर्जीवित गरेन।
हाम्रो राजनीति पनि त्यस्तै छ
ढिलो बोध, ढिलो माफी, ढिलो सुधार।

Leave a Reply