कहिले तपाईंले बादललाई ध्यानले हेरिरहनु भएको छ?
वादल सधैँ आकाशमा घुमिरहन्छ, कहिले उज्यालो सुर्यसँग लुकाछिपी खेल्छ, कहिले कालो रंगमा अडिएर आफैँसँग लड्छ।
तर वादलको कथा यहाँ सकिँदैन।
वादल भित्रै कतै थुनिएको हुन्छ — अनगिन्ती वेदना, थकाइ र नबोलिएको पीडा।
ऊ रमाइलो देखिन्छ, तर थाकेको हुन्छ।
अनि वर्षा —
वर्षा सधैँ प्रेमल हुन्छे। ऊ आउँछे वादललाई हलुका बनाउन। वादलको बोझ उसले बिस्तारै ओसार्छे। ऊ वादलको आँखाबाट खस्ने आँसु बन्छे। वर्षा वादलको आवाज हो, जुन उसले आफैँ भन्न नसक्ने कुराहरू बताउँछे।
वादल र वर्षा — उनीहरूको सम्बन्ध अनौठो छ।
वादल कहिले बाँधिएर बस्न खोज्दैन, ऊ त सधैँ चलायमान हुन्छ।
तर वर्षा सधैँ बाँधिन चाहन्छे, किनभने ऊ वादललाई मुक्ति दिन चाहन्छे।
वादल पुरुष जस्तै —
ऊ बाहिर कठोर देखिन्छ, भित्र भने भारी हुन्छ। उसका सपनाहरू, उसका पीडाहरू उसले आफैँसँग थुनेर राखेको हुन्छ। ऊ आफैँसँग लड्छ, आफैँसँग रोन्छ। ऊ डराउँछ — कि कतै उसको कमजोरी कसैले देख्ला। ऊ आफ्नो आकाश ओछ्यान बनाइरहन्छ, कसैको काँध खोज्दैन।
वर्षा नारी जस्तै —
ऊ मौन भएर पनि धेरै कुरा भन्छे। ऊ वादलको मौनतालाई पढ्न सक्छे। ऊ थाहा पाउँछे — जब वादलको मन भारी हुन्छ, ऊ थाहा पाउँछे — कहिले वादल मुस्कुराइरहेको देखिए पनि भित्र भित्रै ऊ दुखाइमा छ। त्यसैले ऊ एक दिन चुपचाप वादलमा पुग्छे र भन्छे —
“तिमी थकाइएका छौ, आउ, म तिमीलाई हलुका बनाउँछु।”
वादल सुरुमा डराउँछ — उसलाई लागेको हुन्छ, यदि ऊ वर्षासँग खुलेर रोयो भने, ऊ कमजोर देखिनेछ। तर वर्षा त त्यही छे, जसले वादलको आँसुलाई प्रेमको संगीतमा परिणत गर्छे। जसले भन्छे —
“तिम्रो आँसु त मेरो अस्तित्व हो। म तिम्रो पीडा बनेर बग्न जन्मिएकी हुँ।”
वादल बिस्तारै आफैँलाई खोल्न सिक्छ। ऊ वर्षासँग बाँड्न थाल्छ — आफ्नो थकाइ, आफ्नो डर, आफ्नो अधुरा सपना।
र वर्षा — ऊ वादलको हरेक पीडालाई आफ्नो हृदयमा सजाउँछे। ऊ वादलको बोझलाई आफैँमा बगाउँछे, तर आफैँ केही माग्दिन।
समय बित्दै जान्छ।
कहिले वादल थाक्छ, कहिले वर्षा मौन हुन्छे। तर उनीहरू दुवै एक अर्काको आवश्यकता हुन्।
वादल बिना वर्षा आउँदैन, र वर्षा बिना वादल कहिल्यै हलुका हुँदैन।
यही त हो — जीवनको साँचो सम्बन्ध।
पुरुष वादल हो, नारी वर्षा हो।
पुरुषको सङ्घर्ष, पुरुषको मौन थकाइ, पुरुषको अधूरा सपना — सबै वर्षा बुझ्न सक्छे।
र नारीको त्याग, नारीको समर्पण, नारीको मौन माया — पुरुषले महसुस गर्नैपर्छ।
कहिले काँही हामी केवल वादल हेरिरहन्छौँ, वर्षालाई बिर्सन्छौँ। तर वादल कहिले मिठो हुँदैन, जबसम्म वर्षाले उसलाई छुन्ने मौका पाउँदिन।
वादलको शक्ति वर्षामा छ। वर्षाको सुगन्ध वादलमा छ।
यसैले म भन्न चाहन्छु —
“पुरुषको सङ्घर्ष बुझ्ने नारी नै वर्षा हो। नारीको त्याग बुझ्ने पुरुष नै वादल हो।”
यिनीहरू छुट्टिन सक्दैनन् —
जसरी वादल बिना वर्षा छैन, वर्षा बिना वादल अधूरो छ।
Leave a Reply