त्रि-चन्द्र क्याम्पस, जसले नेपालको उच्च शिक्षाको इतिहासमा अमूल्य योगदान दिएको छ, त्यही क्याम्पसमा हालसम्म आन्तरिक परीक्षा सञ्चालन नभएको गम्भीर विषय सतहमा आएको छ।
विद्यार्थीको शैक्षिक मूल्याङ्कन, आत्मविश्वास अभिवृद्धि र बोर्ड परीक्षा तयारीका लागि आन्तरिक परीक्षा अनिवार्य मानिन्छ। आन्तरिक परीक्षा विद्यार्थीहरूको मेहनत, कक्षामा उपस्थिति र सिकाइको प्रगतिको महत्वपूर्ण कडी हो। तर त्रि-चन्द्र क्याम्पसमा आन्तरिक परीक्षा समयमै नहुनु अत्यन्तै चिन्ताजनक अवस्था हो।
विद्यार्थीहरूको यो मौलिक हकलाई बेवास्ता गर्नु क्याम्पस प्रशासनको लापरवाही मात्र नभई सम्पूर्ण शैक्षिक क्षेत्रको मर्यादामाथिको प्रश्न समेत हो। यस विषयमा क्याम्पस प्रमुख श्री professor DR. Nilam Shrestha र सरोकारवाला निकायले तुरुन्तै गम्भीर निर्णय लिनु आवश्यक छ।
यस सन्दर्भमा FSU (स्ववियु) र सम्पूर्ण विद्यार्थी संगठनहरूलाई पनि आह्वान गर्दछौं —
विद्यार्थीका हक अधिकार र शैक्षिक हितका लागि तत्काल दबाबमूलक पहल र आवश्यक कदम चालियोस्। विद्यार्थी संगठनहरू केवल चुनावी गतिविधिमा सीमित नरही, विद्यार्थीको वास्तविक समस्या समाधानमा अग्रसर हुनुपर्ने समय यही हो।
हामी सम्पूर्ण विद्यार्थीहरूको तर्फबाट त्रि-चन्द्र क्याम्पसमा आन्तरिक परीक्षा यथाशीघ्र सञ्चालन गरियोस् भन्ने माग गर्दछौं। अन्यथा हामी बाध्य भएर शान्तिपूर्ण विद्यार्थी आन्दोलनमा जान सक्ने स्पष्ट सूचना प्रदान गर्दछौं।
मागहरू:
- आन्तरिक परीक्षा तत्काल सञ्चालन गरियोस्।
- विद्यार्थीको शैक्षिक अधिकार सुनिश्चित गरियोस्।
- आन्तरिक मूल्याङ्कनको विश्वसनीय र पारदर्शी प्रक्रिया अपनाइयोस्।
विद्यार्थीहरूको आवाज सुन्नु र उनीहरूको भविष्य सुरक्षित गर्नु क्याम्पस प्रशासन र विद्यार्थी संगठनहरूको साझा जिम्मेवारी हो।
विद्यार्थीको आवाज, सुधारको बाटो!
Leave a Reply