कालापानी रोइरहेको छ—
हिउँभित्र लुकेको नदीको आँसु,
ढुंगाभित्र अड्किएको पीडाको स्वर।
लिम्पियाधुरा कराइरहेको छ—
“म नेपालको हुँ,
किन बेच्न खोज्छौ मलाई ?”
लिपुलेक चिच्याइरहेको छ—
“यो बाटो त पुर्खाले खोलेका थिए,
सन्तानले गर्व गर्ने भनी,
किन सम्झौतामा विदेशीलाई अर्पन्छौ मलाई ?”
यो माटो केवल माटो होइन,
हाम्रा पुर्खाको पसिनाको गन्ध हो,
हाम्रा शहीदको रगतले धपक्क रङ्गिएको इज्जत हो।
विदेशी बुटले टेकेको प्रत्येक ढुंगाले
आमाको काख च्यातिएको पीडा भोगिरहेको छ।
नेपाल आमाले कराउँदै भन्छिन्—
“मेरो छातीको टुक्रा किन छिन्छौ ?
मेरो गर्भको माटो किन चोर्छौ ?”
ओठले नारा लगाउनु मात्र होइन,
आँसुमा शपथ लिनुपर्छ—
हामी मौन रहँदैनौँ,
हामी सहिँदैनौँ।
यो सिमाना बेचिने छैन,
यो गौरव हराउने छैन।
कालापानी हाम्रो श्वास हो,
लिपुलेक हाम्रो स्वाभिमान हो,
लिम्पियाधुरा हाम्रो आत्मा हो।
जब देश पीडामा हुन्छ,
सन्तान मौन बस्दैनन्।
आँसु आँखामा भरिए पनि,
त्यो आँसु कमजोरी होइन,
देशलाई जोगाउने प्रतिज्ञा हो।
जय मातृभूमि !🇳🇵🇳🇵🇳🇵
जय सार्वभौमसत्ता !🇳🇵🇳🇵🇳🇵
Leave a Reply