हामी भन्छौं—”हाम्रो भाग्य आफैं कोर्न सक्छौं, आफू नै आफ्नो नेतृत्व हो।”
तर यस वाक्यको गहिराई बुझ्न अब हामीलाई दृष्टिकोण बदल्न आवश्यक छ।
यो केवल एउटा प्रेरणादायी वाक्य होइन; यो एउटा चेतनाको आन्दोलन हो,
जसले हाम्रा अघिल्लो पुस्ताको ढाँचामा होइन, नयाँ सोचको क्रान्तिमा भरोसा गर्छ।
दार्शनिक दृष्टिकोण
दार्शनिक स्पिनोजाले भनेका थिए— “मानव स्वतन्त्रता तब हुन्छ जब उसले आफैंलाई बुझ्न थाल्छ।”
हामी नेपालीहरूले आफ्नै इतिहासलाई बुझ्न बाँकी छ, आफ्नै शक्ति चिन्न बाँकी छ।
हामी परनिर्भर चिन्तनमा बाँधिएका छौं—जहाँ भाग्य अरू कसैले बनाउने, विकास विदेशीले ल्याउने,
नेता कहिल्यै हामी नहुन सक्ने भन्ने भ्रान्तिमा रमाइरहेका छौं।
तर दर्शन भन्छ—”तिमी नै तिमीको ईश्वर हौं।”
त्यसैले, अब समय आइसकेको छ—जहाँ हामी आफैंलाई नेता ठानी अघि बढ्नु पर्छ।
साहित्यिक चेतना
साहित्यले समाजको ऐना मात्र होइन, युग परिवर्तनको संवाहक पनि हो।
लुहुले पोखिएको माटोले हाँस्न नसकेको कविता, भोकले लाछित आमाको गुनासो समेटिएको कथा,
र सपना देखेर विदेशिएका युवाको पीडा बयान गर्ने उपन्यास—यी सबैले कराउँछन्—
“अब कलम मात्र होइन, कर्म बोल्नुपर्छ।”
नेपाली साहित्यमा यस्ता हजारौं कथा छन्, जसले परिवर्तनको भाषा बोले,
तर सुन्ने कान थाकिसकेका छन्। अब त यी कथा भोग्ने पुस्ता नै
लेखक बन्नुपर्ने बेला हो—जो कर्मको अक्षरले नयाँ युग रच्नेछ।
राजनीतिक यथार्थ
नेपालको राजनीतिक इतिहास रगत, बलिदान र धोका संगालेर बनेको छ।
लोकतन्त्र आयो, गणतन्त्र आयो, संविधान बन्यो। तर जनताको मुहारमा मुस्कान कहिले आयो?
देशमा सरकार बन्छ र भत्छकिन्छ , योजना घोषणा हुन्छ र स्थगित हुन्छ।
राजनीति जनताको प्रतिनिधित्व होइन, शक्ति प्राप्तिको माध्यम बनेको छ।
तर अब यो चक्र तोड्नुपर्नेछ।
देशले अब पुराना अनुहारमा होइन, नयाँ सोचमा विश्वास गर्नुपर्छ।
र त्यो सोच ल्याउने शक्ति युवामा छ।
कसैले कुर्नु हुँदैन—युवाले राजनीतिलाई केवल गाली होइन, जिम्मेवारीको रूपमा लिनु पर्छ।
नत्र, नेताहरूले देश होइन, केवल आफ्नो चुलो मात्र चलाउँछन्।
आर्थिक सन्दर्भ
देशको अर्थतन्त्र भन्नु विदेशी सहयोग र रेमिट्यान्सको भरमा टिकेको घरझैं हो—देख्न सजिलो, भित्र कमजोर।
कृषिमा आत्मनिर्भर हुनुपर्ने देशले स्याउ चीनबाट मगाउँछ, लसुन भारतबाट।
श्रमशक्ति विदेश पठाएर हामी ‘विकास’ खोज्छौं।
के विकास भन्नु केवल आयात र ऋणकै गोलचक्कर हो?
वास्तविक अर्थतन्त्र तब बलियो हुन्छ जब देशभित्र उत्पादन हुन्छ,
जब युवाले काम पाउँछ, उद्यम खोल्छ, र नाफा मात्र होइन—सम्मान कमाउँछ।
यसको लागि चाहिन्छ—राजनीतिक इच्छाशक्ति, नीतिगत स्थायित्व र युवा उद्यमशीलता।
देशको समृद्धि केवल योजनामा होइन—नयाँ विचार, नवीन प्रयास र नेतृत्वमा भर पर्छ।
र त्यो नेतृत्व हामी हौं।
निष्कर्ष
आजको नेपालले अरू केही खोजेको छैन—
यो देशले अब साँचो मायालु नागरिक खोजेको छ, जसलाई राष्ट्रभक्तिको भाषण होइन, कर्मले देश बनाउन मन लाग्छ।
त्यो नागरिक हामी स्वयं हौं।
हामी आफैं हाम्रो भाग्यको मूर्तिकार हौं।
नेता अरूलाई देखाउने होइन, आफू बन्ने समय हो।
अब हामीलाई न किनारा चाहिएको छ, न कुर्सी—हामीलाई चाहिएको छ
एक दृढ संकल्प—देशलाई फेरि उठाउने, आफै उभिने।
यो समय हो, जब दर्शनले चेतना दिन्छ, साहित्यले आवाज दिन्छ, राजनीति ले ठाउँ दिन्छ, र अर्थतन्त्रले सम्भावना दिन्छ।
तर यी सबै कुरा सफल हुन्छन्,
जब हामी विश्वास गर्छौं—”आफ्नो भाग्य आफैं कोर्न सक्छौं।
किनभने, नेतृत्व हामी स्वयं हौं।”
Leave a Reply