श्रम मन्त्रालयको गाडी सिंहदरबार भित्रैबाट हरायो रे ! नेपाल प्रहरी भन्छ – भोलिपल्ट भेटियो । यो खबर सुन्दा सुरुमा हाँसो उठ्छ, अनि तुरुन्तै मन कुँडिन्छ – के साँच्चै देश यति लापरवाह भयो ? सिंहदरबार, जहाँ देशको शासन सन्चालन हुन्छ, त्यहीँबाट मन्त्रालयको सरकारी सवारी हराउनु भनेको केवल एक प्रशासनिक गल्ती होइन, यो राज्यशक्ति र सत्ताको सडेगलेको संरचनाको झ्यालबाट देखिएको दृश्य हो।
तर यो त केवल एउटा सानो ‘हराउने’ प्रकरण हो। यहाँ त गाडी मात्र हैन, – कोही सांसद मान्छे बेच्छन , – कोही जग्गा बेच्छ, – कोही सिमाना बेचेर राष्ट्रघात गर्छ, – कोही कुलिङ पिरियड हटाएर निजामती सेवा नै निजी स्वार्थमा लिलाम गर्छन..
देशको सार्वभौम संसद् व्यापारिक मञ्च जस्तो बन्दैछ, जहाँ मान्छेभन्दा दलाली बलियो छन नीति भन्दा लाभ ठूला छन्।
सिंहदरबारबाट गाडी हरायो भन्नु त अपूर्ण सत्य हो, साँचो पीडा त तब हो जब सिंहदरबारबाट सिंहदरबारकै अर्थ हराउँछ कि जहाँ जनताको प्रतिनिधि भन्दापनि स्वार्थका एजेन्टह तथा एजेन्डाहरु प्रस्ततुत हुन्छ्न।
यो केवल गाडी होइन, चेतना हराउने यात्रा हो। कवि भूपि शेरचनको व्यंग्य ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ झैं – देश हाँक्ने कुर्सीमा दृष्टिविहीन सत्ता छ, जसले न बाटो देख्छ, न दिशा चिन्छ, तर घुमिरहन्छ, घुमाइरहन्छ – आफैंभित्र।
हामी जनता भने हेरेको हेरै। आज गाडी हरायो, भोलि सिंहदरबार हराउँछ, एउटा रात यस्तो पनि आउला – जहाँ देश नै हराइदिन् सक्छ , अनि हामी केवल साक्षी बनिरहन्छौं – न मौन विरोध गर्न सक्छौं, न उच्च स्वरमा चिच्याउन।
किनभने, जब चेतना हराउँछ, तब शासन पनि हराउँछ। देश भनेको भौगोलिक नक्शा मात्र होइन, देश भनेको जनताको भरोसा हो – जो अहिले दिनप्रतिदिन हराउँदै गएको महुसुस भएको छ….
Leave a Reply