✍️ सोमत भुसाल
जीवनमा कतिपटक यस्तो समय आउँछ, जब हामी आफैँसँग थाक्छौं। न त शरीरमा उत्साह बाँकी रहन्छ, न त मनमा कुनै नयाँ आशा पलाउँछ। समयसँगै थाकेको यो शरीर र जर्जर भएको मन, कतिपटक आफ्नै अस्तित्वलाई प्रश्न गर्न थाल्छ। हो, म त्यहीँ मोडमा उभिएको छु — जहाँ अब जल्नै पर्छ, सकिनै पर्छ।
म आगो हुँ, जल्न देऊ।
म आगोभित्रको कोइला हुँ, त्यो कोइला जसले धेरै पटक जलिसकेको छ, अझै भित्र कतै तातिरहेको छ। मलाई अब फेरि जल्न देऊ, म पूर्णरूपमा भस्म हुन चाहन्छु। मेरो अस्तित्वलाई आंशिक राख्न आवश्यक छैन, म पूर्ण अन्त्य खोजिरहेको छु।
म बोट हुँ, जुन अब सुकेर ढलिसकेको छ। त्यो बोट जसले पहिल्यै हरियाली गुमाइसकेको छ, जसमा न त पात बाँकी छ, न त कुनै नयाँ फूलको आश। अब मलाई सकिन देऊ, मलाई आगोभित्र पूर्ण रूपमा जलेर समाप्त हुन देऊ। किनभने, कहिलेकाहीँ अन्त्य नै सबैभन्दा ठूलो शान्ति हुन्छ।
ढलेर जलेको यो तनले अझै पनि मनलाई कसरी सम्हाल्न सक्ला र?
कहिले काँही त मन पनि थाक्छ, त्यो मन जसले सधैँ बाँच्न संघर्ष गरिरहन्छ, त्यो मन जसले सँधै सहेर पनि मुस्कान देखाइरहन्छ। तर, अब त्यो मन पनि टुट्न लागेको छ। त्यसैले मलाई अब आगोभित्र जल्न देऊ, त्यो रापमा जसले मलाई भित्रभित्रै देखि समाप्त पारिदियोस्।
मेरो यो शरीर, अहिले उभिएको छ, तर यो केवल एउटा खोल हो।
यो केवल ‘स्पर्श बिनाको हावाको झोका’ जस्तै हो, जसले संसारको कुनै अर्थ राख्दैन। स्पर्श छैन, तातोपन छैन, केवल सासको औपचारिकता बाँकी छ। यस्तो शरीरलाई किन जबर्जस्ती जोगाइरहनु? अब मलाई जल्न देऊ, म आगोमा विलीन हुन चाहन्छु।
जीवन सधैँ निर्माण मात्र होइन, कहिले काँही विनाश पनि शान्तिको बाटो हुन्छ।
कसैलाई भत्किन दिनु, कसैलाई जल्न दिनु, कहिलेकाहीँ सबैभन्दा ठूलो मायाको रूप हो।
किनकि जलिसकेको कोइला, सकिसकेको रुख, र उभिएको शून्य शरीरलाई जब हामी जल्न दिन्छौं — त्यसपछि मात्र शायद पुनर्जन्मको सम्भावना रहन्छ।
म आगो हुँ, मलाई जल्न देऊ।
म भस्म हुन चाहन्छु, मलाई रोक्न नखोज।
किनकि, कहिलेकाहीँ भित्रैदेखि खरानी भएपछि मात्र जीवनको नयाँ अर्थ जन्मन्छ।
Leave a Reply